धनगढी १२ साउन/नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अत्तरियामा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले छड्के अनुगमन गरेका छन् । अत्यधिक बत्ती जाने समस्याको गुनासो आएपछि सोमबार मन्त्री खड्काले प्रादेशिक कार्यालय अत्तरियामा छड्के अनुगमन गरेका हुन । सुदूरपश्चिम प्रदेशमा रानीजमराको उद्घाटन् र टनकपुर बाधको अनुगमन गर्न आएका समयमा उनले सुदूरपश्चिम क्षेत्रको गुनासो अनुसार बिद्युत कार्यालयमा कामको अबस्थाका बारेमा छड्के अनुगमन गरेका हुन् ।
मन्त्री खड्काले प्रादेशिक कार्यालयको गतिविधिबारे जानकारी लिन र समस्या बुझ्न अकस्मात् कार्यालयमा आएको बताए । उनले ट्रिपिङको समस्या धेरै भएकाले यसलाई सुधार गर्न र छिटो छरितो सेवा दिन निर्देशन दिएको बताए ।
छड्के अनुगमनका क्रममा उनले प्रादेशिक प्रमुख जङ्ग बहादुर चन्दलाई यस क्षेत्रमा विद्युत्मा देखिएको समस्याका बारेमा जानकारी लिएका थिए । मन्त्री खड्काले समस्या देखिएका ठाउँमा तत्काल एक्सन लिन र ग्राहलाई कुनै समस्या भएमा जानकारी दिन निर्देशन दिएका थिए ।
प्रादेशिक प्रमुख चन्दले केही ठाउँमा अझै पनि पोलहरूमा मसिनो तार भए पनि बजेट अभावका कारण फेर्न नसकेको बताए । उनले गत वर्ष ३२ करोड माग गरे पनि ५ करोड मात्रै पाएको बताए । उनले कैलाली कञ्चनपुरमा सर्किट छुट्याउन काम गरिरहेको बताए । उनले महेन्द्रनगर देखि दोधारा चाँदनी लाइन भारतको बाटो भएर लगिएकाले मर्मत गर्न समस्या भएको बताए । उनले भने ‘भारतको बाटोबाट लाइन गएकाले मर्मत गर्न पनि समस्या छ । भारतको अनुमति लिनुपर्ने हुन्छ ।’
उनले यस विषयमा २÷३ पटक फाइल उठाए पनि फाइल थन्किएको बताए । उनले यो लाइन नेपाल टु नेपाल भए सहज हुने बताए । उनले नेपाल टु नेपाल लाइन बिस्तार गर्न ५ करोड खर्च लाग्ने बताए ।
(भिडियो )