धनगढी, ७ साउन / बैतडी समाज कैलालीको आयोजनामा तथा कैलाली उद्योग वाणिज्य संघ, धनगढीको सहकार्यमा यही साउन १७ गते शनिबार १६ औं बृहत रक्तदान तथा खीर खाने कार्यक्रम आयोजना गरिने भएको छ।
धनगढीको उत्तरबेहडीस्थित पदमा हेल्थ कलेजको प्राङ्गणमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत व्यापक रक्तदान अभियानसँगै सहभागिहरूलाई खीरसमेत खुवाइने आयोजकले जानकारी दिएको छ।
बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टका अनुसार यसअघि १५ संस्करणसम्मको कार्यक्रम सफलता साथ सम्पन्न भइसकेको छ। “यस वर्षको कार्यक्रमलाई पनि अझ प्रभावकारी र सहभागीमूलक बनाउने तयारीमा छौं,” अध्यक्ष भट्टले बताए।
हालसम्म बैतडी समाज कैलालीले १ हजार ४ सय ३५ यूनिटभन्दा बढी रगत संकलन गरिसकेको छ। समाजले सामाजिक सेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
आयोजकले सम्पूर्ण नगरवासी, युवाहरू, रक्तदाता तथा सामाजिक कार्यप्रति इच्छुक नागरिकहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका छन्।
