धनगढी, १८ असार । डोटीको शिखर नगरपालिका–४, की डम्मरी बिक अहिले ५३ वर्षमा लागिन् । उनी ७ वर्षकी हुँदा उनका काकाले कन्यादान गरिदिए । विवाहपछि उनले पारिवारिक जिम्मेबारी बोकिन् । आमा बुवा बितेपछि काका–काकीको स्याहारमा हुर्किरहेकी डम्मरीलाई ७ वर्षकै उमेरमा चार हजार रुपैयाँ लिएर जबर्जस्ती विवाह गरियो । बिहे के हो ? भन्ने बुझ्नै नपाउँदै विवाह भएको सम्झँदै उनले भनिन्,‘पति अपाङ्ग हुनुहुन्थ्यो, सासू–ससुरा दिनरात गाली गर्थे, भारी काम लगाउँथे ।’ आफूभन्दा गहुँगो काम गर्दागर्दै हुर्केकी उनले सुत्केरी हुँदा पनि पेटभरि पोषिले खाना पाइनन् । जसले गर्दा उनको स्वास्थ्यमा समस्या आइरह्यो । सुत्केरीमा पोषिलो खानेकुरा नपाउँदाको समस्याले उनको स्वास्थ्य समस्या बेलाबेला बल्झिरहन्छ ।
बाल्यावस्थामै विवाह र त्यसपछिको पारिवारिक हिंसाले डम्मरीलाई स्वास्थ्यले मात्रै, आत्माले पनि बाँच्नै मन छैन । वर्षौंको शारीरिक श्रम र मानसिक तनावले गर्दा अहिले उनी अपाङ्ग छिन् । ‘मर्न मन लाग्छ, तर मर्न सकिँदैन,’उनले भनिन्,‘छोरा बुहारी रोजगारीका लागि कालापहाड छन्, बुढेसकालमा साहारा छैन, समाजमा एक्लिएको महसुस हुन्छ ।’
डम्मरी एक प्रतिनिधिमूलक पात्र हुन् । उहिलेको समाज छोरी महिनावारी नहुँदै विवाह गरिदिए स्वर्ग गइन्छ भन्ने अन्धविश्वासमा चुर्लुम्म डुबेको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा १७३ ले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भनेको छ । तर, अहिले भने बढ्दो प्रविधि तथा समाजिक सञ्जालले गर्दा बालबालिका आफूखुशी बालकैमा विवाह गर्ने ‘रहर’ झाँगिदो छ । यसै मध्येकी एक हुन् विद्या (नाम परिवर्तन) ।
कैलालीको चुरे गाउँपालिका–५, खानीडाँडाकी विद्याको वैवाहिक अवस्था पनि उस्तै छ । कक्षा ९ मा पढ्दा पढ्दै प्रेममा परेर उनले भागी विवाह गरिन् । सुरुको वैवाहिक जीवन राम्रै वितेको उनी दोस्रो वर्र्षमै गर्भवती भइन् । गर्भवती हुँदा पाउनुपर्ने पोषण तथा गर्नुपर्ने आराम पनि पाइनन् उनले । कलिलो उमेरकी विद्याले १९ वर्षकै उमेरमा छोरो पाइन् । उनले बच्चैमा बच्चा स्याहार्नु परेपनि विभिन्न शारीरिक र मानसिक समस्या भोग्नुप¥यो ।
धनगढी–६, मनहेराकी १८ वर्षीया संगीता (नाम परिवर्तन) को कथा भने फरक छ । नयाँ युग र नयाँ प्रविधिसँग जोडिएकी संगीता सामाजिक सञ्जालमार्फत् प्रेम सम्बन्धमा परिन् र सानै उमेरमा भागेर विवाह गरिन् । ‘सुरुमा विवाह नै जीवन हो लाग्थ्यो, तर विवाहपछि जीवनको यथार्थ थाहा पाएँ,’ उनी भन्छिन्, ‘न पढ्नै सकियो, न त आत्मनिर्भर हुने आधार नै बन्यो । अहिले जीवन चलाउन सकस छ ।’ त्यो बेला विवाह गर्नु हुँदैन भन्दै कसैले सम्झाइ दिएको वा रोकिदिएको भए यस्तो गल्ती नहुने सम्झँदै उनले भनिन्,‘अहिले थाहा भयो कि प्रेमभन्दा पहिला आत्मनिर्भरता चाहिने रहेछ ।’ बालविवाहले शिक्षा, आत्मसम्मान र जीवनको दिशा नै खोसेको तीतो अनुभव उनी सुनाउँछिन् ।
सरस्वती र संगीता मात्रै होइन् अहिलेका बालिकाहरु बाल विवाहको कारण धेरैले दुःख पाइरहेका छन् । उनीहरु कलिलै उमेरमा आमा बनिरहेका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा २० वर्षभन्दा कम उमेरका चार हजार चार सय ५५ जना, आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार पाँच सय पाँच जना र आर्थिक वर्ष २०८१/०८२ को असारसम्म तीन हजार चार सय १५ जना किशोरी आमा बनेका छन् ।
यो दर कैलालीमा सबैभन्दा बढी छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २० वर्ष नपुग्दै कैलालीका एक हजार एक सय ८६ जना किशोरी आमा बनेका छन् । सोही आर्थिक वर्षमा कञ्चनपुरमा चार सय ६६, अछाममा तीन सय ३२, डोटीमा दुई सय ९८, बझाङमा दुई सय ८८, बाजुरामा दुई सय २०, डडेल्धुरा दुई सय ७ र दार्चुलामा एक सय ९० जना किशोरी आमा बनेका छन् ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सिविन नेपालका प्रमुख हरिलाल चौधरीले बालविवाहको स्वरूप परिवर्तन भएसँगै त्यसलाई रोक्न थप चुनौती थपिएको बताएका छन् । पछिल्लो समय विवाहका परम्परागत ढाँचामा परिवर्तन आउँदा कानुनी रूपमा कुनलाई बालविवाह भन्ने र कुनलाई नभन्ने भन्ने विषयमा अन्योल देखिएको उनले बताए । ‘पहिले १६ वर्षमै विवाह गर्ने कानुनी व्यवस्था थियो भने अहिले त्यो उमेर २० वर्ष पुगेको छ । तर, अहिलेका किशोर–किशोरीहरू भागी विवाह गर्ने गरेका छन्,’ उनले भने,‘सिन्दुर हालिएको हुँदैन, केटा पक्षको घरमा गएर बस्ने गर्छन् ।
सिन्दुर नहालेपछि कानुनी रूपमा त्यो विवाह प्रमाणित हुँदैन ।’ उनले बाल क्लबहरूबाट फलाना केटी फलाना केटासँग गयो भन्दै बालविवाह भएको भनी मुद्दा हाल्ने गरिए पनि प्रमाणको अभावमा कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ हुने बताए । ‘रीतिरिवाज अनुसार विवाह भएको वा सिन्दुर हालेको प्रमाण नभएसम्म मुद्दा अघि बढ्दैन,’ उनले भने,‘यसले गर्दा बालविवाह नियन्त्रणमा समस्या भइरहेको छ ।’
कानुन कार्यान्वयनको अभाव र स्थानीय तह तथा जनप्रतिनिधिहरूको उदासिनता पनि बालविवाह रोकथामका मुख्य बाधक बनेका छन् । कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुनुका साथै जनप्रतिनिधिहरू आफैं किशोर–किशोरीको दीर्घकालीन भविष्य नसोची क्षणिक सहमति देखाएर मौन बसिरहेको उनले बताए । बालविवाहको नयाँ स्वरूपलाई बुझेर त्यसअनुसारको कानुनी नीति र सामाजिक दृष्टिकोण बनाइनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
वालविवाह गरेपछि समस्या समाधान नै नहुनेगरि सम्बन्धित निकायमा आउने गरेको सिविन नेपालमा कार्यरत महिला अधिकारकर्मी भगवती राईले बताइन् । उनी भन्छिन्, ‘बालविवाहको कारणले धेरै किशोरीहरू विद्यालय छोड्न बाध्य छन्, सानैमा आमा बन्छन्, हिंसा सहन्छन् र भविष्य गुमाउँछन् । र, अन्त्यमा हामी कहाँ आउँछन् ।’ शिक्षा, चेतना अभाव, अभिभावकको दबाब, आर्थिक संकट र सामाजिक सञ्जालको असन्तुलित प्रयोगले आजको पुस्तामा पनि बालविवाह अझै नरोकिएको राई बताउँछिन् । ‘बालविवाह रोक्न शिक्षा, यौन स्वास्थ्यको ज्ञान र आत्मनिर्भर बन्ने अवसर अत्यन्त आवश्यक छ,’ उनले भनिन्,‘बालवालिका दुवै आर्थिकरुपमा सबल भएको भए बालविवाह केही हदसम्म घट्न सक्थ्यो ।’
बालविवाह न्यूनीकरणको प्रयासमा हालसम्म थुप्रै सरकारी तथा गैरसरकारी निकाय सक्रिय देखिए पनि यसको प्रभावकारी नियन्त्रणमा अनेकन चुनौतीहरू छन् । बालविवाहको स्वरूप परिवर्तन भई कानुनी रूपमा प्रमाणित गर्न गाह्रो हुने अवस्था, कानुन कार्यान्वयनको कमजोरी र राजनीतिक तथा सामाजिक दबाबका कारण समस्या झन जटिल बन्दै गएको छ । विशेषगरी बालविवाह जस्तो गम्भीर सामाजिक समस्याबारे सबैभन्दा पहिला जानकारी स्थानीय जनप्रतिनिधिलाई हुने भए पनि उनीहरू आफ्ना मतदाता वा आफन्तको डरले यस विषयमा बोल्न नचाहने प्रवृत्ति देखिन्छ । बालबालिकाको दीर्घकालीन हितभन्दा पनि तात्कालिक सामाजिक सम्बन्ध र राजनीतिक लाभलाई प्राथमिकतामा राख्ने सोचले गर्दा कानुन कार्यान्वयन हुन सकेको छैन ।
यस्तो अवस्थामा बालविवाह न्यूनीकरणका लागि केवल केही संस्थाहरूको प्रयास पर्याप्त हुँदैन । यसका लागि स्थानीय तहदेखि प्रदेश सरकार, राजनीतिक दलहरू, प्रहरी प्रशासन र नागरिक समाज सबैले मिलेर दीर्घकालीन सोचसहित समन्वयात्मक रूपमा काम गर्नु आवश्यक छ । कानुनी ढाँचामा सुधार गर्नुका साथै सामाजिक व्यवहारमा परिवर्तन ल्याउने दीगो रणनीति अवलम्बन नगरेसम्म बालविवाह नियन्त्रण चुनौतीकै विषय बनेर रहनेछ।
बालविवाहपछि बलात्कारमा मुद्दा दर्ता
कैलालीमा बालविवाहका घटना घटिरहेका छन्, तर कानुनी प्रक्रियामा भने ती विवाहहरू बलात्कारका मुद्दाका रूपमा दर्ता हुने प्रवृत्ति बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संकलन गरेका अधिकांश घटना बालविवाहका भए पनि बलत्कारमा दर्ता भएको पाइएको छ । बालविवाहका धेरै जस्ता घटना बलत्कारमा दर्ता हुने गरेको इन्सेक कैलालीकी प्रतिनिधि मैनामति चौधरीले बताइन् । उनले भनिन्, ‘बलात्कारमा दर्ता भएका ६४ मुद्दा मध्ये अधिकांश बालविवाहका छन् । उनीहरुका परिवारले बालविवाहमा मुद्दा दर्ता गर्न मान्दैन् । सिधै बलात्कारमा हाल्छन् । ’
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा तीनवटा र आर्थिक वर्ष २०८१/०८२ मा एक वटा बालविवाहका मुद्दा दर्ता भएका छन् । पछिल्लो समय बालविवाहको स्वरूप फेरिएका कारण यो समस्या देखिएको सिविन नेपालका प्रमुख चौधरीले बताए । ‘केटाकेटीबीच पारिवारिक सहमतिबिना भागेर विवाह गर्छन् । न त कानुनी रूपमा विवाह भएको हुन्छ, न सिन्दुर हालिएको हुन्छ,’ उनले भने,‘न त परम्परागत रीतिरिवाज पूरा गरिएको हुन्छ ।’ तर, जब केही समयपछि दुवै पक्षबीच मनमुटाव हुन्छ, वा केटाको परिवारले केटीलाई स्वीकार्न मान्दैन, वा केटीको परिवारलाई केही कुरा मन परेन भने यस्तो अवस्थामा केटी पक्षबाट बलात्कारको मुद्दा दर्ता गराउने क्रम बढेको चौधरी बताउँछन् ।
‘सुरुमा त सँगै बसेका हुन्छन्, तर पछि जटिलता आउँछ। बालविवाह भन्न पनि मिल्दैन, किनकि कानुनले मान्यता दिएका प्रक्रिया पुरा हुँदैनन्,’ उनले भने,‘तर जब सम्बन्धमा समस्या आउँछ, त्यसलाई बलात्कारको रूपमा हेरिन्छ ।’ बालविवाहसँगै किशोरकिशोरीहरूको शिक्षामा गम्भीर असर परिरहेको बेला त्यसपछि बलात्कारको मुद्दा दर्ता गरिने प्रवृत्ति समेत बढ्दो रहेको सिविनमा कार्यरत अधिकारकर्मी राईले बताएकी छिन् ।
हाल कैलाली लगायतका क्षेत्रहरूमा बालविवाहका घटना भइरहेका छन् । तर, विवाहपछि केटा र केटीबीच मतभेद हुँदा, सम्बन्ध टुट्दा वा परिवारको असहमति देखिँदा रिस साँध्न केटी पक्षबाट बलात्कारको मुद्दा दर्ता गरिने क्रम तीव्र रूपमा बढिरहेको छ । ‘बालविवाहपछि धेरैजसो अवस्थामा परिवारले सम्बन्ध स्वीकार्दैनन्। केटी छुट्टिन नमानेपछि वा परिवारले जबर्जस्ती सम्बन्ध तोड्न खोजेपछि बलात्कारमा मुद्दा हाल्ने प्रवृत्ति देखिन्छ,’ उनले भनिन् । यस्तो स्थिति सिधै बालबालिकाको जीवन, पढाइ र भविष्यसँग जोडिएको छ । उनले भनिन्, ‘यस्ता घटनाले दुवै बालबालिकाको पढाइ बिथोलिन्छ । न त उनीहरू विद्यालय जान सक्छन्, न त सुरक्षित रूपमा समाजमा बस्न नै । धेरै जसो घटनामा अभिभावकको दीर्घकालीन सोचको अभाव र गरिबी मुख्य कारण देखिन्छ ।’
जातीय विभेद, सामाजिक दृष्टिकोण र राजनीतिक हस्तक्षेपले पनि समस्या जटिल बनाएको उनी बताउँछिन् । ‘हामीसम्म आउने धेरै घटनाहरूमा आर्थिक अवस्था कमजोर भएकै कारण बालविवाह भएका हुन्छन् । तर, पछि सम्बन्ध बिग्रिएपछि कानुनी बाटो अपनाउँछन् । कतिपय जातको कारण परिवारले छुटाउन बलत्कारमा मुद्दा हाल्छन् । जसका कारण बालबालिकाको भविष्य अझै अन्यौलमा परेको छ,’ उनले भनिन् ।