धनगढी, ४ जेष्ठ/ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षका लागि करिव एक करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नवौं वडा भेलामार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ९३ लाख ३० हजार ३०३ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजित भेलामा वडा सदस्य शेरबहादुर तामाङले बजेट प्रस्तुत गरेका हुन । वडाले कुल बजेटकको करिव ४७ प्रतिशत रकम पूर्वाधार विकासमा, सामाजिक विकासमा करिव ३० प्रतिशत बजेट छुट्याइएको छ । बजेटमा भौतिक पूर्वाधार विकास तर्फ ४३ लाख ८५ हजार ३०३ रुपैयाँ, सामाजिक विकासतर्फ २७ लाख ७५ हजार, आर्थिक विकासतर्फ १३ लाख ९५ हजार, विपद् व्यवस्थापनतर्फ १ लाख ७५ हजार र कार्यालय सञ्चालनतर्फ ६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
वडाले वैशाख ३१ गते सम्म विभिन्न शिर्षकको सेवाबाट १६ लाख ४ सय ५५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । अनुशासित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले वडाले स्थापना कालदेखि मदिरा विक्रि वितरणमा प्रतिबन्ध लगाउँदै आएको वडाले हालसम्म सो प्रतिबन्ध पूर्ण रूपमा पालना हुँदै जनाइएको छ ।
वडाले सडक तथा यातायात, शहरी विकास, सूचना प्रविधि, जलविद्युत, वैकल्पिक ऊर्जा, पूर्वाधार, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् न्यूनीकरण, मानव स्रोत विकास, संस्थागत क्षमता अभिवृद्धि, स्रोत परिचालन, तथा स्थानीय योजना तथा तथ्याङ्क संकलनमा सन्तुलित बजेट विनियोजन गरिएको छ।
वडाको योजनाको पारदर्शिता, कार्यान्वयन र नागरिक सहभागिता सुनिश्चित गर्दै विकासलाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। वडा अध्यक्ष रविन्द्र शाही ९गुड्डु० को अध्यक्षतामा भएको वजेट सार्वजनिक कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा भएको थियो । भेलामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अन्य वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, वडाबासी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।