धनगढी,१ जेठ । कैलालीका स्थानीय तह आगामी आर्थिक वर्षको योजना तर्जुमामा जुटेका छन् । आगामी आव २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट बनाउनका लागि स्थानीय सरकार योजना तर्जुमामा जुटेका छन् । अहिले वडास्तरमा योजना सङ्कलन, छनोट र प्राथमिकीकरणको कार्य भइरहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले विभिन्न सात चरणबाट वार्षिक योजना तर्जुमा गर्ने प्रावधान रहेको छ । स्थानीय तहले बजेटको पूर्वतयारी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, बस्ती तहमा योजना छनोट, वडास्तरमा प्राथमिकता निर्धारण र योजना छनोट गर्नुपर्छ । यसै गरी बजेट तथा कार्यव्रmम तर्जुमा, कार्यपालिकाबाट बजेट तथा कार्यव्रmम स्वीकृति र अन्तिममा सभाबाट बजेट तथा कार्यव्रmम स्वीकृत गराउनु पर्छ ।
योजना तर्जुमाका व्रmममा अहिले स्थानीय तहले गाउँटोलबाट योजना सङ्कलन गर्ने कार्य गरिरहेका छन् । टोल भेला, वडा परिषद् गरेर गाउँबस्तीबाट योजना छनोटको काम भइरहेको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताउनुभयो । “अहिले हाम्रा सम्पूर्ण वडामा टोलबस्तीबाट योजना सङ्कलनको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
प्रवक्ता भट्टका अनुसार एउटै वडाबाट हजारभन्दा बढी योजना आएका छन् । तटबन्ध, कालोपत्रे, नाला निर्माण, ग्राभेलदेखि लिएर लक्षित वर्गका विभिन्न तालिमलगायतका योजना सङ्कलन भएको जनाइएको छ । “आएका योजनालाई वडाले प्राथमिकीकरण गरेर छनोटमा परेका योजना मात्रै पालिकामा पठाउने छ,” प्रवक्ता भट्टले भन्नुभयो । योजना तर्जुमाका लागि पालिकाले प्रत्येक वडामा बजेट सिलिङ पठाउने गर्छन् । त्यही सिलिङ अनुसार वडाले योजना प्राथमिकीकरण गरेर पालिकामा रहेको विषयगत समितिमा पठाउनु पर्छ । वडाबाट आएका योजनालाई समितिले पनि प्राथमिकीकरण गरेर कार्यपालिकामा पठाउने गरेको जनाइएको छ । कार्यपालिकाले सदर गरेपछि बल्ल योजना नीति तथा कार्यव्रmम र बजेटमा समावेश हुने गरेको बताइएको छ ।
स्थानीय सरकारबाट जनताको अपेक्षा बढिरहेकाले एउटै टोलबाट करोडौँको योजना माग हुने गरेको स्थानीय तहले जनाएका छन् । टोलबाटै पाँचरछ करोडसम्मका योजना माग भएको गौरीगङ्गा नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताउनुभयो । “वडामा ५०र६० लाख रुपियाँको सिलिङ आएको छ । तर एउटै टोलका जनताले करोडौँको योजना माग गरेका छन्,” उहाँले भन्नुभयो, “वडाले बजेट सिलिङ अनुसार नै योजना पठाउनुपर्ने भएकाले आएको योजनाको प्राथमिकीकरण गर्नु पर्छ ।”
कैलालीमा १३ वटा स्थानीय तह रहेका छन् । चालु आवको योजना कार्यान्वयनका चटारोबिच धेरै जसो स्थानीय तहमा आगामी आवका लागि योजना तर्जुमाको काम पनि भइरहेको छ । कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले आफ्नो पालिकामा योजना तर्जुमाको काम सुरु भएको जानकारी दिनुभयो । वडाले जेठ १५ गतेसम्म वडाबाट योजना पालिकामा पठाउनुपर्ने जनाइएको छ ।
धेरै चर्चामा रहेको प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा भने टोल, वडाबाट योजना सङ्कलनको काम अझै सुरु भएको छैन । अहिलेसम्म योजना सङ्कलनको काम सुरु नभएको वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले बताउनुभयो । “हाम्रोमा टोल, वडाका जनताभन्दा पनि नगरप्रमुखले योजना छनोट गर्नुहुन्छ,” उहाँले गुनासो गर्नुभयो ।