धनगढी, २९ बैशाख/त्रिभुवन विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा कार्यरत डा रमा देवी जोशीले भौतिकशास्त्र विषयमा विद्यावारिधि Phd उपाधि प्राप्त गर्नुभएको छ। उनले “Solid State Lighting Applications का लागि Nanophosphors को Synthesis र Characterization” शीर्षकमा आधारित गहिरो अनुसन्धान गरी बिद्यावाधि प्राप्त गरेकी हुन् । यससँगै जोशी उक्त क्याम्पसबाट पीएचडी उपाधि हासिल गर्ने पहिलो महिला वैज्ञानिक बनेकी हुन् ।
उनकोअनुसन्धान कार्य त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा भवानी दत्त जोशीको सुपरिवेक्षणमा र आर प्रविणाको सह सुपरिवेक्षकत्वमा सम्पन्न भएको हो। पीएचडी अध्ययन अवधिमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित गरेकी छन् । यसले नानोफोस्फोरसको संश्लेषण र प्रकाश अनुप्रयोगमा यसको प्रयोगसम्बन्धी शोध कार्यले नानोविज्ञान, ऊर्जा दक्षता र आधुनिक प्रकाश प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ। अनुसन्धान अनुदानको रुपमा डा रमा देबी जेशीले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) बाट ग्रान्ट समेत प्राप्त गरेकी हुन्, जुन उनको शोधको गुणस्तर र महत्वको पुष्टि हो।
२०६६ सालमा कैलाली बहुमुखी क्याम्पसमा उप प्राध्यापकका रूपमा आफ्नो शिक्षण सेवा सुरु गर्नुभएकी डा जोशी हाल विज्ञान संकाय प्रमुखको रूपमा कार्यरत छन् । विगत १५ वर्षभन्दा बढी समयदेखि विज्ञान शिक्षामा निरन्तर सक्रिय रहँदै आएकी उनको योगदान शिक्षण, अनुसन्धान र संस्थागत नेतृत्व सबै क्षेत्रमा देखिएको छ। विद्यार्थीहरूबीच लोकप्रिय, अनुशासित र प्रेरणादायी व्यक्तित्वकी धनी डा जोशीले महिलाहरूलाई विज्ञान तथा प्रविधिमा आकर्षित गर्न प्रेरणा दिँदै आएकी छन् ।
शैक्षिक वृत्तमा उहाँको योगदान अत्यन्तै सराहनीय छ। शैक्षिक समुदाय, विद्यार्थी, सहकर्मी तथा सम्पूर्ण सुदूरपश्चिमवासीहरूबाट डा रमा देवी जोशीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ। उहाँको यो उपलब्धिले नेपाली महिलाहरूको वैज्ञानिक क्षेत्रमा बढ्दो उपस्थिति र सशक्तिकरणको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।