धनगढी, २५ वैशाख / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हामीले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन्। प्रदेशस्तरीय नीति कार्यक्रम तथा वजेट सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले भने हामी सबै सरकार एक अर्काको अस्तित्व स्विकार्ने पक्षमा नै नहुँदा अवस्था जटिल वन्दै गएको बताए ।
बजेट निर्माण सधैँ त्रुटि गरिरहने जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहोर्याउने हो भने समस्या झन बढ्दै जाने बताए। हामी सबैले सुमधुर सम्बन्ध निर्माण गर्दै अघि वढ्नु पर्नेमा जोड दिए।
यसै अवसरमा मुख्यमन्त्री शाहले यस पटकको भारत भ्रमण समग्र सुदूरपश्चिमको लागि एकदमै फलदायी हुने जानकारी दिए। भारतीय सरकारले गरेको सम्मानले हामी सबैको सम्मान भएको अनुभूति भएको बताउँदै, भोलिका लागि समेत यो भ्रमण फलदायी हुनेमा आफु बिश्वस्त रहेको बताए।
समृद्धि र विकासका लागि सदैव काधमा काध मिलाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिएका छन् ।
नीति कार्यक्रम तथा वजेट सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकार सवै विभागका प्रतिनिधि, ९ वटै जिल्लाबाट आएका प्रतिनिधि, सरोकारवाला निकाय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।