बैतडी, २४ वैशाख / स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्य पदका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन् । सुर्नया गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका मडै हाल काठमाडौँस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख हुन् ।
यही वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका मडैले संघको क्रियाशीलता बढाउन र सदस्यहरूको हकहितको पैरवी गर्न आफ्नो उम्मेदवारी रहेको बताए । “व्यवसायिक क्षमता अभिवृद्धि गर्दै नीति निर्माण तहमा देखिएको समस्या समाधान गर्न म अघि सरेको हुँ,” मडैले भने, “सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर कार्य गर्ने मेरो प्रतिबद्धता छ ।”
उनले नेपालमै सीमित नभई विदेशमा रहेका नेपाली विद्यार्थीलाई पनि आकर्षण गर्ने वातावरण निर्माणमा संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । हाल फेकनका सदस्य रहेका मडै कार्यकारी तहमा जिम्मेवारी पाउँदै संघलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका हुन् । उनले सबै सदस्यसँग सहयोग र समर्थनको अपिल गरेका छन् ।