धनगढी , २१ वैशाख / सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार एक विशेष समारोहका बीच प्रा.डा. विनोद लेखकले नवनियुक्त रजिस्ट्रारको हैसियतमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. लेखकलाई सम्मानपूर्वक स्वागत गरिनुका साथै विश्वविद्यालयका विभिन्न संकाय प्रमुख, प्राध्यापक, प्रशासनिक कर्मचारी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा उपकुलपति पन्तले प्रा.डा. लेखकको कार्यकाल विश्वविद्यालयको शैक्षिक उन्नयन र प्रशासनिक सुधारमा मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयलाई समावेशी, सक्षम र उत्तरदायी बनाउने यात्रामा नयाँ ऊर्जा थपिने अपेक्षा पनि व्यक्त गर्नुभयो।
पदभार ग्रहणपछि प्रा.डा. लेखकले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति कृतज्ञता प्रकट गर्दै संस्थाको समग्र प्रगतिमा निष्ठापूर्वक समर्पित रहने प्रतिवद्धता जनाउनुभयो। उहाँले विश्वविद्यालयको शैक्षिक वातावरणलाई समृद्ध बनाउने दिशामा सहकार्य र उत्तरदायित्वका साथ अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।