यमुना साँउद
धनगढी २२ मंसिर/ धनगढी रंगशालामा सुरु भएको सुदूरपश्चिम प्रदेश फुटबल लिगको पहिलो दिन युवाहरूले कैलाली फुटबल संघविरुद्ध प्रदर्शन र नाराबाजी गरेका छन् । उनीहरूले फुटबल क्षेत्रमा देखिएका विकृति, विसंगति र राजनीतिक हस्तक्षेपप्रति असन्तोष व्यक्त गर्दै प्रदर्शन गरेका हुन् ।
लिग उद्घाटन समारोहमा २०८१ को एन्फा महिला फुटबल लिगमा सहभागी खेलाडीहरूलाई सम्मान गरियो। तर, २०८० मा सुदूरपश्चिम च्याम्पियन बनेको टोलीलाई सम्मान नगरेको र उनीहरूलाई खेल्ने अवसर समेत नदिएको भन्दै विरोध जनाइएको छ। “६९ गोल खाएर आएको टिमलाई सम्मान गरियो, तर च्याम्पियन टिमलाई बेवास्ता गरियो। यो स्पष्ट रूपमा राजनीतिक र व्यक्तिगत मनपरि व्यवहारको परिणाम हो” जिल्ला फुटबल संघका निबर्तमान सहयाक महासचिव महेश जाेशीले भने ।
जोशीले कैलाली फुटबल संघका अध्यक्षले गैर–जिम्मेवार अभिव्यक्ति दिने गरेको र संघभित्र राजनीति र पक्षपातले खेल क्षेत्र धराशायी भएको आरोप पनि लगाए। प्रदर्शनकारीहरूले “फुटबल संघमा राजनीति बन्द गर,” “कैलाली जिल्ला अध्यक्ष राजीनामा देऊ”, र “इमानदार खेलाडीको कदर गर” भोटको राजनीति कहिले सम्म रु पधाधिकारी मोटाउने खेलाडी विदेश पलायन हुने ?,इमानदार ,मिहेनतको कदर कहिले हुने ? ,केन्द्र र जिल्लामा एक व्यक्तिको रजाई कहिले सम्म ? ,राजिनामा कहिले दिने ?, कैलाली जिल्ला अध्यक्ष राजीनामा देउ । फुटबल सिद्दाउने मतियार मुर्दावाद जस्ता नाराहरू लगाउँदै विरोध जनाए ।
महेश जोशीले एन्फाबाट प्राप्त १ लाख डलर फुलबारीमा निर्माण गर्न भनिएको फुटबल ट्रेनिङ सेन्टरका लागि आएको भए पनि उक्त रकम प्रचार–प्रसारमै सीमित रहेको दाबी गरे। कैलाली फुटबल संघका अध्यक्ष अनिल मल्लले नाराबाजीबारे आफू जानकार नभएको प्रतिक्रिया दिए। उनले भने, “सुदूरपश्चिम फुटबल संघले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा पाएर मात्र गएको थिएँ। नाराबाजी कसले गर्यो र किन गर्यो, मलाई थाहा छैन। स्थानीय युवाहरूले फुटबल संघमा राजनीतिलाई अन्त्य गर्दै खेलाडीको मिहिनेत र इमानदारिताको सम्मान गर्न माग गरेका छन्। यो विरोधले कैलाली फुटबल संघ र खेलकुद क्षेत्रको व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ।