कञ्चनपुर, २४ असोज/भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किरहनु भएका कैलालीको घोडाघोडीका ५९ वर्षीय रविलाल बराल भारतको हरिद्वारमा लुटिनु भएको छ । भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लट्ठ्याएर निदाएपछि लुटेको बरालको भनाइ छ । उहाँका अनुसार, चार महिनासम्म मजदुरी गरेर कमाएको भारु ६० हजार ५ सय रकम र झोला लुटिएको छ । हरिद्वारमा अलपत्र परेपछि उहाँलाई भारतीय बसले सीमा नाका बनबासासम्म र त्यहाँबाट अटोले नेपालस्थित कञ्चनपुरको गड्डाचौकीसम्म निःशुल्क ल्याइपुर्याएका छन् ।
बुधबार खाली हात कञ्चनपुरको गड्डाचौकी स्थित नागरिक सहायता कक्षमा पुगेर घटनाक्रम र आफ्नो अवस्थाबारे बताएपछि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सञ्चालित नागरिक सीमा सहायता कक्षले बराललाई घरसम्म पुग्ने बस भाडा र खाना खर्च दिएर घर पठाएको छ । गड्डाचौकी स्थित नागरिक सीमा सहायता कक्षमा कार्यरत नायव सुब्बा दानसिंह बोहराका अनुसार, गत आर्थिक वर्षमा ६० जना भन्दा बढी नागरिकहरू लुटिएको भनेर सहायता माग्न आउनु भएको थियो भने यस आर्थिक वर्षको हालसम्म २३ जना पुग्नु भएको छ । भारतका विभिन्न ठाउँमा लुटिएर गड्डाचौकीसम्म पुग्नु भएका नेपाली नागरिकहरूलाई घरसम्म पुर्याउन लाग्ने खर्चको व्यवस्था मन्त्रालयले गर्ने गरेको छ ।
स्वदेशमा रोजगारीका अवसर नपाएपछि गुजारा चलाउनै मुस्किल परेका सुदूरपश्चिम र कर्णालीका थुप्रै नागरिकहरू भारतमा गई काम गर्दै आउनु भएको छ । विशु पर्वमा घर आई बर्खे बाली लगाएर भारत पस्ने र दशैँतिहारमा पुनः घर आई हिउँदे बाली लगाएर भारतमै गई पुनः काममा खटिने उहाँहरूको वर्षौँदेखिको अभ्यास परम्परा जस्तै बनिसकेको छ । भारतमा चार पाँच महिना काम गरेर कमाएको रकम बोकी घर फर्किँदा कतिपय नेपालीहरू बाटोमै लुटिने गरेका घटनाहरू बढ्दै गएका छन् ।
