धनगढी,१४ भदौ । बैतडीमा गौरा पर्वको मेलामा झडप हुँदा दुई जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन् । दुई पक्षबीच भएको झडपमा दोगडाकेदार गाउँपालिका(४ श्रीकेदार घर भई गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र विष्ट र दोगडाकेदार(४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना घाइते भएका छन् ।
स्थानीय लटैनाथ मन्दिरमा लागेको गौरा मेलामा बिहीबार बेलुका झडप हुँदा उनीहरू घाइते भएका सो वडाका अध्यक्ष तर्कराज भट्टले बताए । गौराका लागि घर आएका नेपाली सेनामा कार्यरत विष्टको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ११ टाँका लागेको वडाध्यक्ष भट्टले बताए । सुरजको मुखमा चोट छ । दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि धनगढी लैजाने तयारी भएको वडा अध्यक्ष भट्टले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले दोगडाकेदार गाउँपालिका(५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको बताए । उनीहरु इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा छन् । दुई पक्षबीच वादविवाद हुँदा झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।