धनगढी , ६ भदौ / कैलालीको भजनी नगरपालिका क्षेत्र डुबानमा परेको छ । भारी बर्षासँगै आएको बाढीले भजनी नगरपालिकाका मात्रै ५ हजार घरधुरी डुबानमा परेका हुन् । भजनी नगरपालिका– ३ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको जानकारी दिए ।
बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चोधरीले बताए । जसमध्ये करिब ९ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।