धनगढी ,३१ साउन ।धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले अस्थायी प्रहरी पाेष्ट फुलबारीद्वारा दुई स्थानमा जेब्रा क्रसिङको निर्माण गरिएको छ। स्याउले चोक र प्रगति टोलमा निर्माण गरिएका यी जेब्रा क्रसिङहरू दुर्घटना न्युनिकरण र ट्राफिक नियमहरूको पालनामा सहयोग पुर्याउने आशा गरिएको छ।
दुर्घटनाहरूलाई कम गर्न , ट्राफिक नियम पालना गराउन र पैदलयात्रीहरूको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले जेब्रा क्रसिङको निर्माण गरिएकोअस्थायी प्रहरी पाेष्ट फुलबारीका प्रमुख सिद्धराज बिष्टले बताए । बिष्टले भने, “दुर्घटना न्युनिकरणका लागि हामीले यी जेब्रा क्रसिङहरूको निर्माण गरेका हौं। पहिलो चरणमा, हामी स्थानियलाई यसको प्रयोगबारे सचेतना दिनेछौं र त्यसपछि सबैले यसलाई नियमित प्रयोगमा ल्याउनेछन्।”
फुलबारी क्षेत्रमा सवारी चालकहरूलाई ट्राफिक नियमहरू पालन गर्न प्रोत्साहन गर्ने र दुर्घटनाहरूलाई घटाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको बिष्टले थप जानकारी दिए।
