धनगढी,३१ साउन । जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि बैतडीका किसान चिन्तीत भएका छन् । मकै पकेट क्षेत्रका लागी उपयुक्त ठानीएको बैतडीमा मकैबाली जोगाउन मुस्कील भएको किसानहरुले गुनासो गरेका हुन् ।
दिउँसो बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी गायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको किसानहरुले बताएका छन् । रातदिन पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको गुनासो उनिहरुको छ ।
जंगली बँदेलले मकैबाली पूर्ण रुपमा नष्ट गरिसकेको सुर्नया गाउँपालिका –६ धुलिधारका गोविन्द अवस्थीले बताए । जंगली बँदेलको बथानमा खेतमा लगाएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको उनले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका ४ का भुवनबहादुर चन्दले खेतमै टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको बताए । रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका पाटन नगरपालिका ३ ढुंगेलीका मोहन पन्तले बताए । बारीमा जंगली बँदेलले दिउँसै आएर मकैबाली नष्ट गरेको उनले बताए । जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि जंगली बँदेलले मकैबाली नष्ट गरिरहेको स्थानीय नरबहादुर महराले बताए । रातिको समयमा पहरा दिँदा समेत बाली जोगाउन नसकिएको उनले बताए ।
बैतडीका तल्लोसोराड, च्वाँगढ, पुर्चौंडी, पाटन, सुर्नया, दोगडाकेदार लगायत सबै ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन् । रातिको समयमा पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको सुर्नया ४ का स्थानीय रामबहादुर महराले बताए ।
बैतडीमा १० हजार ५ सय ६० हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पहिला १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएकोमा पछिल्लो बर्षहरुमा मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ ।