धनगढी,१९ साउन । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीबाट दीर्घबहादुर सोडारीले राजिनामा दिएपछि प्रदेश सरकार मुख्यमन्त्री बिहिन बनेको छ । शुक्रबार साँझ सोडारीले राजिनामा दिएपछि सुदूरपश्चिम प्रदेश सरकारमा अबको मुख्यमन्त्री को बन्ने भन्ने चर्चाको विषय बनेको हो ।
यसै, बिच प्रदेश प्रमुख नजिर मियाँले आइतबार (भोली) साँझ ५ बजेसम्म नयाँ सरकार गठन आह्वान गरेका छन् । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् ।
केन्द्रमा भएको भागबण्डा अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने छ । तर कांग्रेस भित्र भएको चरम असन्तुष्टिका कारण नेतृत्व चयनमा भने सकस देखिएको हो । यस बिच नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका लागी चार जना दौडधुपमा छन् । पूर्व मुख्यमन्त्री शाह, पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी छन् ।
मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्टाछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।
