धनगढी,१६ साउन । पटके कर खारेजीको माग गर्दै कञ्चनपरको दोधारा चाँदनी नगरपालिकाका अटो व्यवसायीहरुले बुझाएको मागपत्रमा सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरु सबैले आफ्ना अटो नगरपालिका कार्यालयमा राखेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नगरपालिका कार्यालयको प्रवेशद्वारदेखि कार्यालय भवनसम्म अटोहरु राखिएका छन् । माग पूरा नभएसम्म कार्यालयमा अटोहरु छाड्ने उनीहरुले बताए ।
अटो व्यवसायी समितिले आइतबार पटके कर खारेजीको माग राखेर दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई माग पत्र बुझाएको थियो । उनीहरुले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको थियो । व्यवसायी समितिले माग पत्रमा पटके करले आफूहरुलाई मार्का परेकाले खारेज गर्नु पर्ने माग गरिएको छ ।
अटो व्यवसायीहरु अति विपन्न, समान्य श्रमिक भएको आम्दानीको तुलनामा कर बढी तिर्नु पर्ने अवस्था भएकाले मार्कामा परेको मागपत्रमा उल्लेख गरिएको छ । मेयर लिम्बुलाई मागपत्र बुझाउन अघि समितिको बैठकबाट कर खारेजीका लागि स्थानीय सरकारलाई समस्या समाधानका लागि मागपत्र बुझाउने निर्णय गरिएको थियो ।
नगरपालिले कर खारेजीका लागि वेवास्ता गरे पछि उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । हिजो उनीहरुले आफ्नो अटोहरु नगरपालिका कार्यालय लगेर राखेर आन्दोलन सुरु गरेका थिए ।
अटो व्यवसायी समितिका अध्यक्ष टेकराज गिरीको नेतृत्वमा उनीहरुले मेयर लिम्बुलाई कार्यालयमा अटो राख्ने जानकारी गराएका थिए । व्यवसायीहरुको मागप्रति वेवास्ता गरिएकाले माग पूरा नभएसम्म अटोहरु नगरपालिका कार्यालयमा राखिने उनले बताए । उनले भने ‘हाम्रो ज्ञापन पत्रको वेवास्ता भयो, त्यस कारण अटो व्यवसायीहरुले आफ्ना अटोहरु यस कार्यालयमा जम्मा गरेका छौ, जबसम्म माग पूरा हुँदैन,तब सम्म अटो कार्यालयमा छाड्छौ’
अध्यक्ष गिरीले कार्यालयमा छाडिएका अटोमा क्षति भए नगरपालिका जिम्मेवार हुनुपर्ने उनले बताए । ‘नगरपालिकामा छाडिएका अटोमा तोडफोड भए वा कुनै क्षति भएमा त्यसको जिम्मेवार नगरपालिका हुन्छ । ’ उनले भने । अटो व्यवसायीले नगरपालिका कार्यालयमा अटो राखेर पहिलो पटक आन्दोलित भएका हुन् ।