धनगढी,१५ साउन । कैलालीको अत्तरियामा महिला शसक्तिकरण, समृद्ध नेपाल र अपांगता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहयोग तथा निड्स नेपाल र राष्ट्रिय अपांग महासंघ नेपालको सहकार्यमा गोदावरी नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।
नगरउपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
युनिसेफका सामाजिक निति अधिकृत प्रकाश आचार्यले महिला समृद्ध भएमात्रै देशको विकास हुन्छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको बताए । उनले पालिकामा महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रम गरी त्यसबाट लाभान्वित वर्गहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने तिर पनि पालिकासँग सहकार्य गरिने बताए ।
उनले अपांगता भएका व्यक्तिहरुको हकअधिकार र विभिन्न विषयवस्तुहरुका बारेमा जानकारी दिने गरी पनि कार्यक्रम आयोजना गरिएको बताए । त्यसका लागि युनिसेफको सहयोगमा एउटा एप्लीकेशन बनाईएको उनको भनाई छ । उक्त एप्लीकेशन कैलालीका ३ वटा पालिकासहित सुदूरपश्चिमका १० वटा पालिकाहरुमा सुरुवात गरिने उनले बताए ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सामाजिक संस्थाहरुले हेल्पिङ हेन्डका रुपमा काम गर्ने बताए । उनले स्थानिय पालिकाहरुको सहजिकरणका लागि मात्रै संघसंस्थाहरुले कार्य गर्ने बताए । उनले विभिन्न संघसंस्थाहरुले विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको र त्यस्ता संघसंस्थाहरुसँग समन्वय गर्ने काम नगरपालिकाले गर्नुपर्ने बताए ।
नगरउपप्रमुख शारदा रोकायाले नगरपालिकामा पछाडी परेका वर्गहरुका लागि सहयोग गरेको भन्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरिन । उनले पछाडी परेका वर्गहरुलाई माथि उकास्ने काम नगरपालिकाले गरिरहेको भएपनि अझै विभिन्न संघसंस्थाहरुको सहयोगले थप टेवा पु¥याईरहेको बताईन । उनले आगामी दिनहरुमा पनि संघसंस्थाहरुबाट सहयोगको अपेक्षा लिएको बताईन ।