धनगढी, १३ साउन । बैतडीमा पहिरो खस्दा २ परिवार विस्थापित भएका छन् । सिगास गाउँपालिका–३ भुडेश्वरमा आइतबार राती खसेको लेदोसहितको पहिरोले २ परिवार विस्थापित भएका हुन । पहिरोले स्थानीय गणेश साउँद र जसवीर साउँदको घरमा क्षति पुगेको छ । घरमा क्षति पुगेकाले दुवै परिवार विस्थापित भएका छन् ।
घर भत्किने अवस्था रहेकाले दुवै परिवार आफन्तको घरमा बसिरहेका छन् । पहिरोले क्षति पुगेकाहरूलाई राहत स्वरूप सहयोग गर्ने गाउँपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष अमर सिंह धामीले बताएका छन् ।पहिरोले ८ परिवारको घर खेतमा पनि क्षति पुगेको छ । पहिरोले स्थानीय गणेश साउँद, जसवीर साउँद, राम सिंह धामी, मनवीर साउँद, गोपाल सिंह साउँद, हरि सिंह साउँद, बाद धामी र गंगाराम साउँदको खेतमा क्षति पुगेको हो । पहिरोले ३० रोपनी जमिनमा लगाएको धान नष्ट भएको वडाध्यक्ष धामीले बताए । अझै वर्षा भएको अवस्थामा थप ११ परिवार जोखिममा पर्नसक्ने स्थानीयले बताएका छन् ।