धनगढी,८ साउन । कृषि ज्ञान केन्द्र बझाङले जिल्लाका उत्कृष्ट १० जना कृषकलाई सम्मान गरेको छ । ज्ञान केन्द्रको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कृषक सम्मान कार्यक्रम बालिबस्तु विशेष अन्तर्गत कृषि क्षेत्रमा योगदान पुगाएका कृषकलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको बताइएको छ ।
सम्मानित हुनेमा तरकारी खेती गरेकी जयपृथ्वी नगरपालिका–७ सुबेडाकी जयलक्ष्मी जोशी, छबिसपाथीभेरा गाउँपालिका–३ का हर्कबहादुर सिह, छबिसपाथीभेरा–१ का महेश धामी, जयपृथ्वी–४ का पूर्णप्रसाद उपाध्याय, फलफूल नर्सरीतर्फ जयपृथ्वी–१० का रामसिह राना, फलफूलमा तल्कोट गाउँपालिका–६ का गोपिलाल बिष्ट, सुर्मा–२ का जयबहादुर बोहरा, दुर्गाथली गाउँपालिका–३ का धने रोकाया, रहेका छन् भने फलफूल र तरकारी खेती गर्दै आएका बुङ्गल नगरपालिका–८ का ग्रिस बोहरा, मौरी पालनतर्फ केदारस्यु गाउँपालिका–४ का धनबहादुर अधिकारी रहेका छन् ।
कृषकहरुलाई दोसल्ला ओढाई नगद १०/१० हजार र सम्मान पत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रममा कृषकहरूले गुजारामुखी नभई व्यवसायमुखी बन्नुपर्नेमा जोड दिइएको थियो ।