धनगढी,८ साउन । दार्चुलाका २७ जना व्यापारी चीनको ताक्लाकोट पुगेका छन । कोरोना महामारी पछि ४ वर्षदेखि बन्द रहेको नाका खुलेपछि छाङ्गरु र तिंकरका २७ जना व्यापारी ताक्लाकोट पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जसमा छाङ्गरुका १५ जना र तिंकरका १२ जना रहेका छन । ४ वर्षदेखि बन्द रहेको नाका औपचारिक रुपमा खोल्ने प्रयास असफल भएपछि चिनियाँ व्यापारीको आमन्त्रणमा २७ जना व्यापारी बुधबार ताक्लाकोटका लागि हिडेका थिए ।
नाका औपचारीक रुपमा खुलाउनको लागि यसअघि असार ११ र असार २६ गतेको मिति तोकिएको थियो । उक्त प्रयास असफल भएपछि हाल अनौपचारीक रुपमा नाका सुचारु भएको हो । उनीहरु हिडेर चिनियाँ सीमासम्म पुगेका भएपनि सीमापारी भने सडक मार्ग हुँदै ताक्लाकोट पुगेका थिए ।
कोरोना महामारीका कारण २०७६ सालदेखि तिंकर नाका बन्द हुँदा ताक्लाकोटमा व्यापार गर्दै आएका नेपाली नागरिक समस्यामा परेका थिए । हाल ताक्लाकोट जानको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट १८७ जनाको पास लिएका छन ।