धनगढी, २१ असार । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ। वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो।
कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सातजना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए। ’व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ’, उनले भने।
वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्नुहँुदै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए। किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउबिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उनले बताए।