धनगढी,२१ असार । नेपाली कांग्रेस बेलौरी नगरसमितिले बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै नगरपालिका कार्यालयमा स्थानीयले थालेको धर्नामा सहभागी नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । कञ्चनपुरको बेलौरी बजार देखि नेपाल भारत सीमा भन्सार सडकको डिपिआर बनिसक्दा समेत सडक निर्माणमा पालिकाले निर्णय कार्यान्वयमा चासो नदेखाएको भन्दै सडक संघर्ष समितिका पदाधिकारी बुधवार देखि अनिश्चितकालिन धर्नामा बसेका थिए ।
कांग्रेस बेलौरीका नगर सभापति पेपुराम चौधरीले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गरी धर्नामा सहभागी नहुन निर्देशन दिएका हुन् । नगर सभापति चौधरीले कांग्रेसको कुनै पनि किसिमको धर्ना, जुलुश, आन्दोलन गर्ने कार्यक्रम नभएकाले नगरपालिकाको धर्नामा सहभागी नहुने नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मालपोत कार्यालय देखि नेपाल भारत सीमा सम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशव राज जोशी बताए । ‘‘२०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ, सडक अहिलेसम्म बनिसक्नुपर्ने हो’ संयोजक जोशीले भने ‘पालिकाले अतिक्रमित जग्गा खाली गराउन नसक्दा सडक निर्माणमा हुन नसकेको हो ।’
संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नुपरेको संयोजक जोशीले बताए । संयोजक जोशीका अनुसार सडक निर्माणका लागि संघर्ष समितिले पालिका प्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ । आफूहरूको माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।
