धनगढी,२० असार । भन्सार सडक निर्माणमा ढिलाइ गरिएको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीयले धर्ना दिएका छन् । सडक संघर्ष समितिका पदाधिकारी बुधबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
बेलौरी बजारदेखि नेपाल भारत सीमासम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशवराज जोशीले बताए । संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्नामा बस्नुपरेको उनले बताए ।
सडक निर्माणका लागि संघर्ष समितिले नगरप्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १९६ र पुनः वैशाख २६ गते ४४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ । २०७८ सालमा भन्सार रोडको डिपिआर पनि तयार भइसकेको छ ।
नगरप्रमुख चौधरीले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइसकेको र उक्त सडक निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कसर नराख्ने बताए ।