धनगढी,१४ असार । एसइईको परीक्षामा सामुदायिक विद्यालयहरूबाट सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा ल्याउने कैलालीको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी छात्रा नीतिका अवस्थीलाई सम्मानित गरिएको छ ।
शुक्रवार गोदावरी नगरपालिका – ४ की उनलाई नेपाली काँग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रीय सभापति वसन्त रोकाया (ललित) ले नगद सहित सम्मानित गरेका हुन । उनले विद्यार्थीको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना सहित नगद रु. ५ हजार १ सय रुपैयाँ सहयोग गरेको बताएका छन् ।
‘सामुदायिक विद्यालयमा अध्ययनरत भएर पनि प्रदेशभरिमा उत्कृष्ट नतिजा ल्याउनु हामीहरूको लागि पनि गर्वको कुरा हो’ उनले भने ‘यस्ता विद्यार्थीहरूले शिक्षा क्षेत्रमा राम्रो प्रगति हासिल गरेर विद्यालय र यो क्षेत्रको नाम उच्चो राख्न सक्छन् भन्ने सोचका साथ मैले आफूले सक्ने सानो सहयोग गरेको हुँ ।’
यसैबिच नीतिकालाई नेपाली काँग्रेस र नेकपा एमालेका वडाकमिटिहरुले सम्मान गरेका छन् । शुक्रवार वडामै विभिन्न कार्यक्रमहरू आयोजना गरी नीतिकालाई काँग्रेस र एमालेका वडाकमिटिहरुले सम्मान गरेका हुन । उनीहरूले खादा र सम्मान पत्रले नीतिकालाई सम्मानित गरेका थिए ।