धनगढी,१२ असार । कैलाली कञ्चनपुरबाट प्रहरीले एकैदिन साढे ८ लाख बढीको अबैध सामान बरामद गरेको छ । मंगलबार कैलालीको धनगढी, भजनी, लम्की चुहा, घोडाघोडी, कैलारी र कञ्चनपुरको भीमदत्त नरपालिका, पुनर्वास नगरपालिकाबाट प्रहरीले ८ लाख ७० हजार ३५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका –३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका –१८ ‘एफ’ गाँउ, भजनी नगरपालिका – ६ माहादेउली, भजनी नगरपालिका – ९ आमरी, लम्की चुहा नगरपालिका –२ मोतिपुर स्थित भित्रि सडक खण्ड, घोडाघोडी नगरपालिका – ११ आम्बासा र कैलारी गाउँपालिका –५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४ लाख ६५ हजार १७० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएका छन ।
जसमा बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, भरतीय नम्बर प्लेटको मोटरसाइकल लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ । यस्तै मंगलबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका –१० सुकासाल, गज्जर, भीमदत्त नगरपालिका –१७ बासखेडा र पुनर्वास नगरपालिका – ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४ लाख ४ हजार ८६५ रुपैयाँ बराबरका चिनी, खानेतेल, मिठाई, जुत्ता चप्पल सुर्ती, टि–सर्ट, गन्जी, अण्डरवेयर, सुटपिस, थान कपडा, तिरपाल, भिजिट कार्डहरु, छल्लाहरु, स्टिकर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
