धनगढी, १० असार / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ ।बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको बताएको छ ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो ।
यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको हो। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था छ।
३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउनेछन् । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।