धनगढी ,२७ जेठ । सरकारले कैलालीमा आकाशे लालपुर्जा बाडेको पाइएको छ । ४ सय जना मुक्त कमैयालाई सरकारले आकाशे लालपुर्जा बाडेको पाइएको हो । मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीका अनुसार चार सय जनाको हातमा जग्गाको लालपुर्जा भएको तर उनीहरुले हालसम्म भोग गर्न पाएका छैनन् ।
मुक्त कमैयालाई लालपुर्जा दिइएको जग्गा पहिलेदेखि अरूको नाममा भएको र उक्त जग्गा विद्यालयको जग्गा देखिएको छ । तर उनीहरुले राज्यलाई ती जग्गाको मालपोत भने बुझाउँदै आएको मुक्त कमैया रामप्रसाद रानाले बताए ।
त्यसता लालपुर्जा पाउने मुक्त कमैयाहरू हालसम्म जिल्लाका विभिन्न मुक्तकमैया शिविरमा बस्दै आएका हुन् । खासगरी आकाशे पुर्जा पाउने मुक्त कमैयाहरु जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकास्थित विभिन्न मुक्त कमैया शिविरमा बस्दै आएका हुन् ।
मुक्त कमैया समाजका अनुसार कैलालीमा जम्मा ९ हजार ७६२ मुक्त कमैयामध्ये जग्गा पाउनुपर्ने योग्य कमैया ८ हजार ९७५ जना छन् । जसमध्ये ८ हजार २२ जनाले जग्गाको लालपुर्जा पाएका छन् भने बाँकी ९५३ जना मुक्त कमैयाले जग्गा पाउन बाँकी रहेको छ । जसमध्ये ४ सय जनाको हातमा लालपुर्जा छ तर जग्गा छैन ।