धनगढी,८ जेठ । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ। आज एक कार्यक्रम गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको श्रीकोट स्वास्थ्यचौकीका प्रमुख वीरसिंह भाटले जानकारी दिए ।
गत आवमा गर्भवती रहेका ७५ र यस वर्ष ५५ जना गर्भवती रहेकामा सबै स्वास्थ्यसंस्थामै सुत्केरी भएपछि घोषणा गरिएको हो । अगामी दिनमा पनि घरमा हुने सुत्केरी शुन्यलाई निरन्तरता दिइने प्रमुख भाटले बताए । श्रीकोटसंगै दोगडाकेदारका ६ वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख नरेन्द्र नाथले बताए । वडा नं १ रिम र वडा नं २ कमलपुरलाई निकट भविष्यमै पुर्ण संस्थागत सुत्केरी घोषणा गरिने प्रमुख नाथले बताए । गाउँपालिकालाई अगामी वर्ष पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य रहेको जनाएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने बताए । उनले भने ” गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु कोष स्थापना गरेका छौं। उपाध्यक्षको कोसेली पनि सञ्चालनमा छ।”
घोषणा कार्यक्रममा बोल्दै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
दोगडाकेदार गाउँपालिका ३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष कालुराम भुलको अध्यक्षतामा सम्पन्न घोषणा सभामा प्रमुख अतिथि दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की रहनुभएको थियो ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की,प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामी, स्वास्थ्यकर्मी, शिक्षक,महिला स्वास्थ्यस्वयंसेविका,राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासिन्दालगायतको सहभागीता रहेको थियो। घोषणासभामा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान र सचेतनामूलक सांस्कृतिक कार्यक्रम पनि गरिएका थिए।