धनगढी,७ जेठ । नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले आज छड्के अनुगमन गरेको छ । केन्द्रीय कार्यालयको सर्कुलर अनुसार विद्युत् चुहावट नियन्त्रण गर्नको लागी आज बाट अनुगमन गर्न सुरु गरिएको हो । आज पहिलो दिन जयपृथ्बी नगरपालिका वडा नम्बर ९ बाट अनुगमन सुरु गरिएको नेपाल बिद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले बताए।
अनुगमनका क्रममा बिद्युत् चोरी गरी प्रयोग गरिरहेको अवस्थामा जयपृथ्बी नगरपालिकाका वडा नम्बर ९ का ३ जनाको बिद्युत् लाइन काटिनुका साथै अनुगमन टोलीले बिद्युतका सामग्री जफत गरेको हो ।
विद्युत् चोरी गरिरहेको अवस्था फेला परेको व्यक्तिलाई नियमानुसार कारबाही गरिने जनाइएको छ । लाइन काटिएका ग्राहकहरूले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै नियम अनुसार हर्जाना बुझाएपछि मात्र जफत गरिएको सामग्री फिर्ता गरिनुका साथै बिद्युत् जडान गरिने कार्यालयका प्रमुख खड्काको भनाइ छ ।
यस्तै, विद्युत् महसुल नबुझाउने ग्राहकको सङ्ख्या पनि बझाङमा धेरै रहेको छ । जिल्लामा महसुल नबुझाउने ग्राहकको सङ्ख्या १ हजार बढी रहेकाले यस्ता ग्राहकको समेत लाइन काटिने कार्य भोलिबाट सुरु गरिने कार्यालय प्रमुख खड्काले बताए ।