धनगढी , ६ जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको बैठकले पर्यटन प्रवद्र्धन र छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने निर्णय गरेको छ । अछामका प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने लगायतका निर्णय गरिएको जानकारी दिए ।
उनले पार्टीको प्रदेश समितिले पहिलोपटक रामारोशन क्षेत्रमा बैठक राखेर पर्यटन प्रवद्र्धनको सुरुवात गरेकाले अगामी बैठक समेत पर्यटकीय क्षेत्रमा राखिने नीति पार्टीले लिने बताए ।
उनकाअनुसार रामारोशन क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने र उक्त क्षेत्रलाई संरक्षण क्षेत्रका रुपमा सूचीकृत गराउन भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक अभियान चलाउने निर्णय गर्दै कुप्रथाविरुद्धको अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए । उनकाअनुसार पार्टीमा आवद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।
यस्तै, बैठकले पार्टीको परिमार्जितले विधानले सुदूरपश्चिम प्रदेशमा संगठन गठनमा समस्या देखिएको भन्दै प्रवक्ता सन्तोशराज जोशीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन, पार्टीका नेता, कार्यकर्ताको अनुशासन र आचरणका लागि रामारोशन आचारसंहिता बनाउदै पारित समेत गरेको प्रदेश सदस्य हेमन्तनारायण जोशीले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति बिष्टले एकताबद्ध भएर सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् । उनले अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरण जबरजस्ती विवादीत बनाउन खोजेको बताउदै त्योबाट निराश नहुन आग्रह पनि गरेका छन् ।
उनले प्रतिपक्षी दलले सत्ताबाट बाहिरिदाको पीडा पार्टी सभापतिमाथि पोखिरहेकाले कांग्रेसको दाबीअनुसार सभापति लामिछाने सहकारी प्रकरणमा संलग्न नभएको विश्वास गरे ।
लामिछाने स्वयंमले समेत यो विषयमा आम जनतालाई प्रष्ट पार्न आवश्यक रहेको बताए । पार्टीले सरकारमा रहेर सन्तोशजनक काम गरेको बताउँदै उनले जनताको अपेक्षा ठूलो भएकाले सोहीअनुसारका काम गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
