धनगढी,५ जेठ । २०४२ सालदेखि निर्माण सुरु गरेर निकै सुस्त गतिमा काम भइरहको कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड निर्माणका लागि विनियोजन गरिएको ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सो खण्डका लागि बजेट विनियोजन गरे पनि हालसम्म ठेक्का आह्वानकै प्रक्रिया समेत शुरु भएको छैन ।
सो खण्डमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्का सम्झौता जारी भएकाले पूरक ठेक्का आह्वान गर्न नसकिने अवस्था भएकाले बजेट फ्रिज जाने सडक विभाग डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिए ।
उनले भने, ‘चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजना गरिएको हो । तर प्रदेशको ठेक्का पहिल्यैदेखि कायम रहेकाले हामीले पूरक ठेक्का आह्वान गर्न सकेनौँ । साइट प्याक भएकाले हाम्रो तर्फबाट बजेट फ्रिज भएको विवरण पठाउछौँ । अरु योजनामा रकमान्तर गर्ने विषय सम्बन्धित मन्त्रालयकै हातमा हुन्छ ।’
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न भीमदत्त राजमार्गको विकल्प मानिएको दैजी–जोगबुडा सडकखण्ड अन्तर्गत दुई खण्डमा निर्माण जारी छ । २०७४ सालमा दुई खण्डमा ठेक्का आह्वान गरेर काम भइरहेको थियो । तर अहिले दुवै खण्ड अलपत्र छन् ।
दैजी–लिपना खण्डमा १३ किलोमिटर सडकमा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम कछुवा गतिमा छ । आठ किलोमिटर सडक कालोपत्र भए पनि केही वर्षअघि पहिरोले सडकसँगै नाली, तारजाली लगायत संरचना भत्काएको थियो । अहिले बजेट अभावमा काम निकै सुस्त छ ।
जोगबुडा–लिपना खण्डको अवस्था पनि उस्तै छ । २०७४ सालमै राजेन्द्र शर्मा जेभीसँग २१ करोड ३६ लाखमा २०७७ सालमै काम गर्नेगरी ठेक्का सम्झौता भएको थियो । दोस्रोपटक थपिएको म्याद गत वर्ष असारमै सकिएर २०८२ असार मसान्तसम्म तेस्रोपटक म्याद थप भएको थियो ।