कैलाली। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । थारु कल्याणकारी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरेका हुन् ।
अहिले पनि संघीय सरकारमा जान उपयुक्त नहुने चौधरीको भनाइ थियो । ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रन्जिताजी मन्त्री बन्नुभयो । कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर, गाडी चढ्नलाई ,सुत्नलाई घर लिनलाई उद्घाटन गर्नलाई हामीलाई मन्त्रालय चाहिएको छैन’, उनले भने ।
संघीय सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा रेशम चौधरी र उनको श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता चौधरीबीच मतभेद रहेको छ । रन्जिता नयाँ गठबन्धनमा सहभागी हुन चाहान्छिन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् । यस्तो बेला रेशमले जापानमा आयोजित कार्यक्रममा आफूलाई छलेर सरकारमा सहभागीको गृहकार्य भइरहेको समेत जनाए । ‘मेरो पार्टीमा पनि धेरै साथीहरूको आकांक्षा मन्त्री बन्ने छ । म भन्छु जनताको सेवक बन्न पाउँ, मेरो साथीहरू भन्छन् मन्त्री बन्न पाउँ ।
म भन्छु जनताको सेवा गर मेरो साथीहरू भन्छन् गाडी चढेर कतिबेला सिंहदरबार जान पाइएला ?, उनले भने, ‘सकेसम्म रेशम चौधरीको आँखा छलेर सिंहदरबार जान पाइएला भन्नेमा साथीहरू छन् ।’ उनले अहिले आफूले टिकट वितरण गर्दा धेरै चाँसो नदिएको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने समेत जिकिर गरे । ‘जनताको सेवक त मैले मेरो पार्टीमा पनि भित्राइन कि जस्तो लाग्छ । हिजो जेलमा जो आयो त्यसैलाई टिकट दिए । को राम्रो को कस्तो मैले चिनिन तर, ०८४ मा म त्यो छुट दिन्नँ’ उनले भने ।
उनले अहिले नेपालमा ठूला दलले साना दललाई सक्ने योजना बनाएको जिकिर गरे।‘अहिलेका ठूला दल भनेको हाम्रा घर भत्काइदिने हामीलाई आहारा बनाइदिने स्याल हुँडार बाघ भालुजस्तै हुन् यीनले ०८४ सम्म साना सबै पार्टीलाई सखाप पार्ने योजना बुनेका छन् नागरिक उन्मुक्तिका साथीहरूले बुझ्नु होला’, उनले भने, ‘त्यस कारणले चनाखो भएर बस्नु पर्छ ।