काठमाडौं/साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ ।विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।
यस कृतिमा कवि विह्वलले कवितामार्फत सहर सपना र सहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा आफैँले भोगेका अनुभव समेटिएको विह्वलले बताए ।कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको बताएका छन् । उनले उल्लेख गरेका छन्, ‘विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’
