धनगढी, ६ पुस/कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् ।
कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ ।
अहिले अस्थायी अस्पताल यत्तिकै रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शेरबहादुर कमरले बताए । “अहिले कोरोना नरहेकाले अस्पताल यत्तिकै छ,” उनले भने , “अस्पताल खाली रहेकाले त्यसलाई स्टोरका रूपमा उपयोग गरिरहेका छौँ ।” धनगढी उपमहानगरपालिका–३, बडहरामा बनेको एक हजार शय्याको होल्डिङ सेन्टर पनि सोही अवस्थाबाट गुज्रिरहेको छ ।
सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनेको हो । गौरीफन्टा नाका भएर फर्किने सङ्क्रमितलाई राख्ने उद्देश्यका साथ २०७८ सालमा यो होल्डिङ सेन्टर बनाइएको थियो । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् ।
होल्डिङ सेन्टरको नाममा बनेको संरचना कुन प्रयोजनका लागि प्रयोग गर्ने वा के गर्ने विषयमा टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । होल्डिङ सेन्टरको रेखदेख भने नेपाली सेनाले नै गर्दै आएको छ ।