धनगढी ४ कार्तिक/प्रतिनिधीसभा सदस्य डिल्लीराज पन्तले दशैंको सन्देश खाने, पिउने र रमाउने मात्रै नभएको बताएका छन । कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य पन्तले शनिबार अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयद्धारा आयोजित दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान तथा ‘प्रतिभा’ वार्षिक मुखपत्र विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।
‘हामी दशैँ मनाउँछौ, दिपावली मनाउँछौ, अन्य विभिन्न पर्व मनाउँछौ । ती हामी प्रक्रिया पु¥याउनको लागि मात्रै मनाइरहेका हुन्छौ । यी चाडपर्वमा खाने पिउने, रमाउने मात्रै गरेका हुन्छौ’ उनले भने ‘यी चाडपर्वले खाने, पिउने, रमाउने मात्रै सन्देश दिएका हुँदैनन् । यि पर्वहरुले समाजलाई सन्देश दिन्छ । त्यो सन्देश हामीले ग्रहण गर्न आवश्यक छ ।’
उनले पछिल्लो समय दशैँ, तिहार, छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरिएपनि ति पर्वहरुले दिने सन्देशका बारेमा बहस, छलफल नहुने गरको बताए । उनले देशलाई राजनीति गर्ने व्यक्तिले नै बिगारेको बताए । उनले देश सञ्चालन गर्ने संविधान नै लेनदेनका आधारमा बनेकाले जनताका लागि काम हुन नसकेको बताए । उनले कला, संस्कृति संरक्षणमा नेता भन्दा सङ्घसंस्थाको ठूलो भूमिका रहेको बताए ।
