महेन्द्रनगर, १६ असोज / कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५० हजार जरिवाना गर्ने भएको हो ।
नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको छ ।
नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाए पनि मछेली, वनहरालगायतका नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।