धनगढी, १६ असोज / गेटमा भित्रबाट ताला लगाइएको छ । भित्र केही ज्येष्ठ नागरिक छन् । फूलका बोटहरू रोपिएका छन् । गेटमा पालेसमेत छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ पटेलामा सरकारको लगानीमा बनेको जडिबुटी प्रशोधन केन्द्रको दृष्य हो यो ।
मानसिक सन्तुलन गुमाएका व्यक्तिको उद्दार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको मानवसेवा आश्रमले केही व्यक्तिलाइ सो केन्द्रमा राखेको छ ।
नेपाल सरकारको करौडौं लगानीमा बनेको जडिबुटी प्रशोधन केन्द्र आश्रमले अतिक्रमण गर्दा समेत उपमहानगर मौन रहेको छ ।
दुइ वर्ष अघि केन्द्रको दुइ सय ५० मिटर दुरीमा भवन निर्माणका लागि सिलन्यास गरेको आश्रमले अहिलेसम्म भवन निर्माण गरेको छैन । भवन निर्माणार्थ धनगढीमा नेपथ्य ब्याण्डलाइ ल्याएर आश्रमले कन्सर्ट गरेको थियो ।
पूर्व सभामुख अर्जुनबहादुर थापासहित निवर्तमान नगर प्रमुख नृपबहादुर वडको सहभागितामा भवन शिलन्यास गरिएको थियो ।
उपमहानगरले जडिवुटी प्रशोधन केन्द्र सञ्चालनमा नल्याएपछि आश्रमले प्रयोग गरेको हो । कोभिड महामारीमा केन्द्रलाइ क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो ।
स्थानिय राम रानाले आश्रमले केन्द्रलाइ सरसफाइ गरेर सुन्दर बनाएको बताए । उनले क्वारेन्टाइन हुँदा झाँड तथा रूखहरूले कुरूप बनेको बताए ।
आश्रमले अहिले१५ जनालाइ सो केन्द्रमा राखेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा भाडामा सञ्चालनमा रहेको आश्रमले घर भाडामा लिइ सञ्चालमा छ ।
उपमहानगरले भवन हष्तान्तरण नभएको भन्दै सो जडिबुटी केन्द्र सञ्चालनबारे मौन छ । सूचना अधिकारी नरेन्द्र खातीले प्रशोधन केन्द्र सञ्चालनबारे जानकारी नभएको बताए । उनले भवन हष्तान्तरण नभएकोले प्रयोग नभएको बताए । स्थानियका अनुसार आश्रमले केही वर्षमै सबैलाइ त्यहा ल्याउने तयारी गरिरहेको छ ।