धनगढी, १२ असोज / नेपालीहरुको महान चाँड दशैं–तिहार नजिकिएसंगै भारतबाट घरफर्किने नेपालीको लर्को लाग्न थालेको छ । कामको सिलसिलामा भारतका विभिन्न शहरमा गएका नेपालीहरु कैलालीको त्रिनगर भन्सार नाका हुुँदै घर फर्किन थालेका छन् ।
त्रिनगर नाका हुँदै सुदूरपश्चिम प्रदेशका नौं वटै जिल्लाबाट हरेक दिन झण्डै अढाई सय जना नेपालीहरु स्वदेश फर्किरहेको सीमा सुरक्षा गुल्म त्रिनगरले जनाएको छ । गुल्मका अनुसार यो संख्या अहिले दैनिक बढिरहेको छ ।
यो नाका हुँदै फाटफुट रुपमा कर्णाली प्रदेशका सुर्खेत, कालिकोटलगायतका जिल्ला र लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया जिल्लाका मानिसहरु पनि नेपाल भित्रिरहेका छन् ।