बाजुरा, २८ भदौ / बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको ५ महिना बढी भयो। हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि ५ महिनादेखि खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानीय धनलाल रोकायाले बताए।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो। त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ। हिमाली गाउँपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुगे। तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन्।
आर्थिक वर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय क्वीन्टल चामल रहेको थियो। कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एक दाना पनि चामल नरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताए। ०८०र०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीन्टल कोटा रहेको छ। उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो नभएको प्रमुख ओझाले बताए। कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए। तर बजारमा त्यही चामल प्रतिकिलो ८० रुपैयाँ हालेर किन्नु परेको छ।
हिमाली गाउँपालिका १ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगेर फिर्ता भएको स्थानीय अम्मलाल बुढथापाले वताए। ‘दुईदिन लगाएर कवाडी पुग्यौं, चामल पाएनौं। बजारको महँगो चामल किनेर ल्यायौं’, उनले बताए। साविकको बिच्छँया गाविसमा मात्र ४ हजार जनसंख्या रहेको छ। सबै घरमा खाद्य संकट भएको उनले बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन। हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एकसाता लाग्छ।
त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको ४ महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए। गत आर्थिक वर्षको ५ सय क्वीन्टल चामल जेठ अन्तिममै सकिएको थियो। यो आर्थिक वर्षको चामल ५ क्वीन्टल कोटा रहेको छ। तर, ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले बताएको छ। प्रकृया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए।
दुर्गमका डिपोमा ५ महिनादेखि चामल अभाव छ भने जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गतेदेखि चामल सकिएर सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। सूचनामा लेखिएको छ, ‘खाद्यान्न डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा खाद्यान्न प्राप्त नभएसम्मका लागि बिक्री वितरण कार्य बन्द भएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइएको छ।’ मार्तडीको डिपोमा १ सय क्वीन्टल, कारागारका कैदीबन्दीका लागि मात्र छ भने कोल्टी डिपोमा ३ सय क्वीन्टल चामल मौज्दात रहेको छ। त्यो पनि एक हप्तासम्मका लागि मात्र पुग्ने र त्यसपछि कोल्टी डिपोमा पनि ताला लगाउनु पर्ने अवस्था हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।
बाजुरामा आफ्नो उत्पादनले तीन महिनासम्म खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांक छ। अपुग खाद्यान्नको पूर्ति खाद्य संस्थान र बजारबाट हुने गरेको छ। बाजुरामा कुल जमिनको ९ दशमलव २१ प्रतिशत मात्रै खेतीयोग्य रहेको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिए। त्यसमा पनि सिञ्चित क्षेत्र दुई प्रतिशतभन्दा कम छ। ‘बाजुरा खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिमयुक्त जिल्ला हो,’ जैसीले भने, ‘बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ।