धनगढी, २१ भदौ / कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा छाडा चौपाया व्यवस्थापन लागी सुर्योदय सामुदायिक वनले निर्माण गरेको अस्थायी टहराको उद्घाटन गरीएको छ । टहराको आज बिहिबार सुर्योदय सामुदायिक वनकी अध्यक्ष जगत्रादेवी सिंह र वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष चौधरीले वडा र पालिकाले गर्न नसकेको काम वनले गरेको बताए । पछील्लो समय छाडा चौपायाले बालीनाली नष्ट गरेका कारण उत्पादन घट्दै गएको भन्दै व्यवस्थापन गर्नु चुनौति रहेको उनले बताए । उनले वडाका तर्फबाट गर्न सकिने सहयोगकालागी सँधै तयार रहेको प्रतिबद्धता समेत गरे ।
कार्यक्रममा वनकी अध्यक्ष जगत्रादेवी सिहंले छाडा पशु चौपायाका कारण खेती नष्ट भएको र महिलाहरुले रातीराती दुख गर्नुपर्ने भएको हुँदा आफुले अस्थायी टहरा निर्माण गरेको बताईन् । स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले कार्यक्रममा समाजमा आईपरेका सबै अप्ठ्यारा समाजकै व्यत्तिहरु मिलेर गर्नु उत्तम भएको बताए ।
उनले सुर्यादय सामुदायिक वनले छाडा पशु चौपाया नियन्त्रणकालागी अस्थायी टहरा निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै नजिकका अन्य वनहरुले पनि यहि कार्य गरेमा छाडा पशु चौपायाले दिने दुखबाट केहि हदसम्म भए पनि राहत हुने विश्वास व्यक्त गरे । करिब ७० पशु चौपाया अटाउनेअस्थायी टहरा वनले ६ लाख ५९ हजार ३१० रुपैँयामा निर्माण गरेको वनका सह सचिव चेतराज जोशीले बताए ।