बैतडी, २० भदौ / सुदूरपश्चिम प्रदेश डेङ्गु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।
दिनप्रतिदिन डेङ्गु संक्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यस प्रदेशमा सन २०२३ को अगस्त महिनामा मात्रै तीनसय ३१ जनामा संक्रमण देखिएको छ । उहाँले भन्नुभयो,“ अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु, अगस्तमा भने ह्वात्तै बढेर तीनसय ३१ पुगेको छ ।”
पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा यस प्रदेशमा छ सय ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा ५२, मार्चमा एकसय २९, अप्रिलमा २५,मे महिनामा २२, जुनमा २६ जुलाईमा ५८ र अगस्तमा ह्वात्तै बढेर तीनसय ३१ पुगेको छ ।
प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा दुईसय १४ र सबैभन्दा कम बैतडीमा छ जनामा संक्रमण देखिएको छ ।
यस्तै दार्चुलामा एकसय ९४, कञ्चनपुरमा एकसय १९, अछाममा ५२,बाजुरामा ३२, डोटीमा १९,बझांगमा १२ र डडेल्धुरामा दश जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन् ।
गत वर्ष यस प्रदेशमा एकहजार दुईसय ८९ जनामा संक्रमण देखिएकोमा चारजनाको मृत्यु भएको थियो ।
अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु संक्रमितको संख्या अधिक बढेको पाइएको जोशीको भनाई छ । लामखुट्टको टोकाईबाट हुने डेङ्गु गर्मी र वर्षातको समय भएकोले बिरामीको संख्या बढेको हो । उहाँले भन्नुभयो,“ तराईका जिल्लामा बढी ह्ुने डेङ्गु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ । ”
डेङ्गुबाट संक्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो ।