धनगढी, १३ भदौ / एसपीए कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएको हस्त निर्मित रक्षा धागो (राखी)मा आकर्षण देखिएको छ । एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थिएटर एण्ड आर्ट्स क्लबका विद्यार्थीहरूले बनाएको हस्त निर्मित रक्षा धागोमा स्थानीय धनगढीवासीको आकर्षण देखिएको हो ।
भारतलगायत देशबाट आयातित रक्षा धागोहरू कच्चा, कम गुणस्तरका र बढी कस्मेटिकयुक्त हुने भएकाले ती भन्दा हस्त निर्मित रक्षा धागोमा स्थानीयको आकर्षण देखिएको स्मल स्केल इन्टरप्रेनियर्सका अध्यक्ष प्रिन्स पन्तले बताए । विद्यार्थीहरूले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन् । स्टलमा विभिन्न डिजाइनका रक्षा धागोहरू उपलब्ध छन् ।
कलेजले विद्यार्थीहरूमा उद्यमशीलता विकास गर्न उक्त क्लबको गठन गरेको हो । उक्त क्लबबाट विद्यार्थीहरूले सा—साना व्यवसाय उन्मुख क्रियाकलापहरू गर्दै आएका छन् ।
आफ्नो उद्यमशील विद्यार्थीहरूले कुनै व्यापार व्यवसाय गर्न चाहेमा कलेजले बिना धितो १० लाखसम्मको लगानी समेत गरिदिने व्यवस्था गरेको छ । थिएटर एण्ड आर्ट्स क्लबकी अध्यक्ष आयुष्मा जोशीले स्थानीयबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।
यही बिहीबार देशभर रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदै छ । उक्त दिन दिदीवहिनीहरुले आफ्ना दाजु—भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
यो चाड दाजुभाइ—दिदीबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ । यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ । त्यसै गरी दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।