बैतडी, ४ भदौ / सुदूरपश्चिममा आजदेखी गौरा पर्व सुरु भएको छ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्वहरु मध्येको एक गौरा पर्व आज विरुडा भिजाएसँगै सुरु भएको हो । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
यो बर्ष ज्योतिषहरुबीच विवादका कारण गौरा पर्व दुई दिन मनाईदै छ । केही ठाउँमा भदौ ७ गते गौरा पर्व मनाउने र केही ठाउँमा भदौ २१ गते गौरा पर्व मनाईने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले आज विरुडा भिजाएर गौरापर्व शुरु गरेका छन । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको दश।थचन्द नगरपालिका – २ की कौमती बोहराले बताइन् । गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडा पञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाउने गर्दछन । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । तर यो बर्ष श्रावण शुक्ल पक्षमै गौराको तिथी तय गरेकाले धेरैले यसमा असन्तुष्टी जनाएका छन् । तर बैतडीसहित सुदूरपश्चिमका अधिकांश ठाउँमा भने गौरा शुरु भइसकेको छ । केही ठाउँमा भदौ १८ देखि गौरा शुरु गर्ने तयारी छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ ।