धनगढी, ४ भदौ / कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रामाथि दुर्व्यवहार नभएको विद्यालयले जनाएको छ । सोही विद्यालयमा कार्यरत शिक्षक बिरेन्द्रप्रसाद जोशीले आफूलाई दुर्व्यवहार गरेको आरोप एक छात्राले लगाएको भए पनि तर, विद्यालयले विज्ञप्ति निकाल्दै त्यस्तो नभएको बताएको छ ।
बिज्ञापन
यही भदौ ३ गतेका दिन विद्यालयका विद्यालयमा कार्यरत कर्मचारी लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई सुनियोजित तरिकाले चरित्र हत्या गर्दै अभद्र व्यवहार गरी विद्यालयसँग प्रत्यक्ष सरोकार नभएका दर्जनौँ व्याक्तिहरु हुलदंगासहित विद्यालय हाताभित्र प्रवेश गरी सुरक्षा निकायका कर्मचारीहरूले निजलाई नियन्त्रणमै लिएकै अवस्थामा छानबिनको विधि र पद्धति मिची ढुङ्गा मुडा हेलमेट प्रयोग गरी गम्भीर घाइते बनाएको प्रति विद्यालय परिवार दुख व्यक्त गर्दै घृणित घट्ना प्रति खेद प्रकट गर्दछौँ ।, भनी विज्ञप्तिमा भनिएको छ ।
करिब १५ वर्षीया बालिकाले शिक्षक जोशीमाथि उक्त आरोप लगाएपछि आइतबार बिहान विद्यालय परिसरमा तनाव सृजना भएको थियो । आक्रोशित विद्यार्थीले शिक्षक जोशीमाथि हातपात समेत गरेका छन् । जसका कारण उनी घाइते भएका छन् ।
उनको टाउकोमा चोट लागेको र महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि धनगढी रेफर गरिएको छ । उनको निसर्ग अस्पताल धनगढीमा आइसीयुमा उपचार भइरहेको छ ।
विद्यालय प्रशासनले भने शिक्षकले छात्रामाथि दुर्व्यवहार नगरेको दाबी गरेको छ । विद्यालयका प्रधानाध्यापक कृष्णसिंह बोहराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए । शिक्षक जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिएका थिए ।