धनगढी, ३ भदौ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा तालाबन्दी गरिएको छ। कल्भर्ट निर्माणको बजेट काटेको भन्दै वडा नम्बर १४ को ‘जी’ गाउँका स्थानीयले वडा कार्यालयमा आइतवार तालाबन्दी गरेका हुन्। स्थानीयले वडा अध्यक्षले ‘जी’ गाउँमा कल्भर्ट निर्माण गर्न आएको २० लाख ५ हजार बजेट अन्यत्र सारेको आरोप लगाएका छन्।
वडा अध्यक्ष र सदस्यहरूले कल्भर्ट निर्माण गर्न प्रदेश सरकारबाट बजेट आउने भन्दै बजेट अन्यत्र हालेको स्थानीय नवराज जोशीले बताए। वडा अध्यक्ष र सदस्यले यो वर्ष कल्भर्टको बजेट काटेको र अघिल्लो वर्ष शिवशंकर आधारभूत विद्यालयदेखि धनबहादुर विष्टको घरसम्म ग्राभेल हाल्ने बजेट अन्यत्र लगेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको जोशीले बताए।
वडा अध्यक्ष र सदस्यहरूले मनोमानी गर्ने गरेको ‘जी’ गाउँका स्थानीयको आरोप छ। यो विषयमा वडा अध्यक्ष मानबहादुर विष्टसँग कुराकानी गर्दा बजेट अन्यत्र हालेको स्वीकार गरे। उनले प्रदेश सरकारबाट कल्भर्ट निर्माण गर्न २५ लाख बजेट आउने भएकाले दोहोरो कार्यक्रम पर्ने भएकाले बजेट काटिएको बताए।
यस्तै, वडा सदस्य मानबहादुर खत्रीले सडक ग्राभेलका लागि आर्थिक वर्ष २०७८र७९ मा चार लाख बजेट आएको भए पनि त्यो बजेट शिवशंकर आधारभूत स्कुलदेखि धनबहादुर विष्टको घरसम्म हाल्ने भनेर नतोकिएकाले आवश्यकताको आधारमा अन्यत्रको सडकमा ग्राभेल गरिएको बताए।