धनगढी, २८ साउन / पछिल्लो तिन वर्षमा सुदूरपश्चिमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ५ हजार बढी उजूरी परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार पछिल्लो तिन वर्षमा प्रदेशबाट मात्रै ५ हजार २ सय ६६ वटा उजुरीहरु परेका छन ।
सुदूरपश्चिमबाट आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय ७६ वटा उजुरी परेको कार्यालयले जनाएको छ भने आर्थिक वर्ष २०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो । त्यस्तै गत आर्थिक वर्षमा पुनः उजुरीको संख्या बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा उजुरीको संख्या १ हजार ९ सय ५२ पुगेको छ । तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फछ्र्यौट भइसकेका र बाँकी उजुरी हाल अनुसन्धानमा रहेको बताईएको छ ।
पछिल्लो तिन वर्षमा कैलालीबाट सबैभन्दा बढी उजुरी परेको कार्यालयका लेखा अधिकृत बसन्त बहादुर शाहीले जानकारी दिए । तीन वर्षको अवधिमा कैलालीबाट मात्रै १ हजार ३८० वटा उजुरीहरु कार्यालयमा परेका छन । ति मध्ये आर्थिक वर्ष ०७७/०७८ मा ४ सय ६०, ०७८/०७९ मा ४ सय ६३ र ०७९/०८० मा ४ सय ५७ उजुरी परेको शाहीले बताए । उनका अनुसार सबैभन्दा कम बाजुराबाट २८४ उजुरी परेका छन् ।
तीन वर्षको अवधिमा कञ्चनपुरबाट ८९८, बैतडीबाट ७२१, डडेल्धुराबाट ३७२, दार्चुलाबाट ३८७, बझाङ्गबाट ४६३, अछामबाट ३९६ र डोटीबाट ३६५ वटा उजुरीहरु परेको कार्यालयका लेखा अधिकृत शाहीले बताए ।
