लबदेब धामी
धनगढी , २७ साउन / बास नेपाल र एकाउन्टएबलिटिल्याबको संयुक्त आयोजनामा सुचनाको हक र भ्रष्टाचार न्युनिकरणमा युवाको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । युवाहरुले आफ्नो कर्तव्य कसरी बहन गर्ने भ्रष्टाचार उन्मूलनमा हाम्रो भुमिका के रहन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
यस कार्यक्रममा प्रमुख अथितिको रुपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीको समेत उपस्थिति रहेको थियो । प्रदेशसभा सदस्य जोशीले नै युवाहरुका प्रश्न, गुनासालाई सम्बोधन गर्नु भएको हो । उहाँले भन्नु भयो “ भ्रष्टाचार सरुवा रोग जस्तै सर्दै गएको अवस्थामा युवाहरुले सजग र सचेत हुनु पर्ने अवस्था आएको छ । संविधानले दिएका मौलिक हक आमनागरीकले पाउनु पर्छ । आम नागरीकले सहजै संविधानले दिएको अधिकार पाए नपाएको निगरानी युवाहरुले गर्नु पर्ने बताए । युवा शक्ति भनेको कुनै पनि राष्ट्रको प्राकृतिक सम्पत्ति हो । यसैले युवाहरुले विदेशको मात्रै सपना नदेखेर यो देशमै के गर्न सकिन्छ , यस विषयमा सोच्ने बेला आएको बताए ।”
उहाँले युवाहरुका प्रश्न, समस्या, गुनासाहरुलाई आफुले प्रदेश सरकार समक्ष पुगाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।
बास नेपालकी प्रदेश अध्यक्ष यशोदा बोहोराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा , प्रदेशसभा सदस्य जोशी सहित पत्रकारहरु र विभिन्न कार्यक्षेत्रमा आवद्ध भएका युवाहरुको सहभागीता रहेको थियो ।