धनगढी, २३ साउन / सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटीले असुली धन्दा मच्चाउन थालेको आरोप लागेको छ । डीआईजी बोहराले आरआइटीमा राखेका प्रहरी कर्मचारीले विभिन्न बाहानामा असुली धन्दा चलाएपछि सर्वसाधारण आजित भएका छन् ।
असुली धन्दा अन्तरगत नै स्थानीय युवाहरुलाई साथमा लिएर सवारीसाधन चेकजाँचमा उत्रिएपछि डीआईजी बोहराका एक सिपाहीको धुलाई गरिएको छ । सोमबार कञ्चनपुरको पुर्नवास नगरपालिका–११ को टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदले युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन् ।
उनीहरुले साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुुबुक मागेर हैरान गर्न थालेपछि हातपात गर्न बाध्य भएको बताएका छन् । पुर्नवास नगरपालिका–११ का वडाध्यक्ष तुुलसी अर्यालले प्रहरी जवान साउँदले सवारी साधन चेकजाँच गर्दै दुःख दिएको खबर पाएपछि सोमबार आफू पनि घटनास्थलमा पुगेको बताए तर अर्यालले आफू त्यहाँ पुग्ने बेलासम्म स्थानीयको एउटा समूहले कुटपिट गरेपछि प्रहरी जवान भागेर गएको प्रेसपत्रलाई बताए ।
साउँद डीआईजी बोहराका नातेदार समेत पर्ने बुझिएको छ । प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राखेका थिए ।