धनगढी, १८ साउन / धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सेवा बन्द गरेको छ । चालू आर्थिक वर्षका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि प्रयोगशालाको सेवा ठप्प भएको हो। प्रयोगशालाले १५ साउनबाट अतिआवश्यकबाहेक सबै प्रकारका सेवा बन्द गरेको जनाएको छ ।
पशुचौपायामा व्यापक मात्रामा रोग देखिएको अवस्थामा बाहेकका सेवा बन्द गरिएको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले बताए । यो प्रयोगशालाले सुदूरपश्चिमका नौवटै जिल्लाका पशुचौपायामा देखिएको रोग परीक्षण, निदान, खोप वितरणलगायत सेवा प्रदान गर्दै आएको छ ।
प्रयोगशाला बन्द भएपछि पशुपन्छीका खोप वितरण कार्य पनि रोकिएको छ। प्रयोगशालामा अहिले खोरेत, पिपिआर, रेबिजलगायत रोगका आठ लाख खोप मौजदात रहेको प्रयोगशाला प्रमुख जोशीले जानकारी दिए ।
ती खोप जिल्लाहरूलाई वितरण र व्यवस्थापन गर्न बजेट नरहेको उनले बताए । धनगढी प्रयोगशालामा चार पशु चिकित्सकसहित १४ जना कर्मचारी कार्यरत छन् ।